
चिकित्सकको नाताले प्रत्येक दिन धेरै बिरामीहरुको रगतलाई नियालेर हेर्नु पर्छ- कति चिनी, कति चर्बी या कुनै जीवाणु, इत्यादी। मान्छे किन बिरामी पर्यो भनेर थाह पाउन प्राय हामी रगत जाँच गर्न लगाउछौँ र रिपोर्टमा पाएको तथ्यलाई आधार मानेर उपचार गर्छौँ ।
राजनीतिक अस्थिरता, आर्थिक मन्दी, दण्डहीनता, असुरक्षा, ठप्प विकास निर्माण- यी सबै देशलाई सन्चो छैन भन्ने संकेतहरु हुन्। धेरै दिनदेखि थला परेको देश- हाम्रो नेपाल र हामी नेपालीको रगतमा के छ भनेर एकछिन गौंढ गरौ, किनभने राष्ट्रिय रोगको ठोस उपचार न अहिलेसम्मको कुनै ’परम्परागत’ पद्दतिले गर्यो, न त ’बन झाँक्री’ को ओखातिले नै बिसेक गर्यो । अब नाडी छामेर उपचार खोज्नु पर्छ, आत्तिएर हुदैन, तातिएर हुदैन, पद र प्रभावले मात्तिएर त झन् हुदै हुदैन । नेपाली समाजको इतिहास, यसको बनावट र चरित्रलाई नजिकबाट नियाल्ने हो भने धेरै कुराको जवाफ पाउन सकिन्छ।
सम्पूर्ण भारत मुगल साम्राज्यद्वारा शासित थियो, तीन शताब्दी। बाबुरको सेनाले जित्नु भन्दा अघि पनि, भारतका हिन्दुहरुले लगातार अरबी, तुर्की र पर्सियन मुसलमान सेनाहरुको आक्रमण खप्नु परेको थियो। यो समयमा त्यहाँका ठुला मन्दिरहारु भत्काईए, माटोमा मिलाईए, धेरै हिन्दुहरु मरिए, आइमाईहरु लुटिए – र यो क्रम तबसम्म चलिरह्यो, जबसम्म उनीहरुले आफ्नो आस्था र सभ्यतालाई मुगल चरणमा अर्पण गरेनन । तक्श्यशिलाको आगोमा हिन्दुहरुको औतिज्य धेरै दिनसम्म जलीरह्यो । त्यसपछि आएका फिरंगीहरुले बरु यिनीहरुलाई राहत दिए- धार्मिक स्वतन्त्रता पाउने देखेर भारतीय हिन्दुहरुले एककिसिमको ’मुक्ति’ महसुस गरे, र धेरै ठाउँमा स्वागत पनि गरे । त्यसैले दुइ शताब्दीसम्म ’ब्रिटिश राज’ मजैले चल्यो। तर धेरै समयसम्म औपनिवेशिकताको उकुसमुकुस र अमेरिका/अफ्रिका मा चलेको स्वतन्त्रताको हावा यता पनि लाग्यो, र भेदभाव, असमानताले भुक्त भारतीय उपमहदेशले स्वाधिनता खोज्यो, र पायो पनि । यसरि त्यो बेलाको भारतका जनताले चरणबद्ध रुपमा धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक शोषण भोग्नु पर्यो, जसले गर्दा त्यताका जनतामा राजनीतिक चेतना, परिपक्वता पैदा गरेको छ। जति अनपढ भए पनि, तिनीहरुलाई सहि र गलतको पहिचान छ, र अन्यायको बिरुद्धमा आवाज उठाउनु पर्छ, मौनता दासताको श्रोत हो भान्ने बुझेका छन्। ’७१ को बंगलादेशको रक्तरान्जित इतिहास जसमा लाखौं मान्छे मारिए, र त्यस अघिको पाकिस्तानि आत्यचारले पनि त्यहाँका बीस करोड बंगालीलाई यहि पाठ सिकाएको छ। यो त्यहि चेतना हो जुन संसारभरि बर्गीय बितृष्णाले हेपिएर/खेदिएर यहुदीहरुले आफुमा बिकसित गरेका छन्- जसको रापमा सेकिएर उनीहरु आज धेरै सम्पन्न र शक्तिशाली भए।
नेपालीले यस्तो केहि भोग्नु परेन, त्यसैले त नेपाल धनी बाबुको पुल्पुलिएको छोरो जस्तै हो- नेपालीले सहि अर्थमा ’दुख’ कहिलै गर्नु परेन। स्वाधीनता सुखी चिज हो, र संसारका प्रत्येक सुखले जस्तै, यसले नेपाली जनतालाई लाटो बनाएको छ, कमजोर बनाएको छ। यहाँका जनता चलाख भएनन्, भविष्यलाई हेरेर हिसाब किताब गर्न, गलत कुरालाई गालत भन्न, बिरोध गर्न, एकजुट हुन- यिनले जानेका छैनन् । नेपालीको मनमा भय र संकोच छ, किनभने उसलाई कतै बिरोध गरें भने आफूले पाइआएको सुख सुबिधा खोसिएला कि भन्ने डर छ। यो संकोचको श्रोत के हो भने, स्वाधीनता इत्यादी ऊसले आर्जेको होइन, उसले पाई आएको हो, जसमा बिजयको तिलक छैन, छ त केवल मेहेरवानीको मोहोर। त्यसैले ऊ सकभर चुप लगेर बस्न रुचाउछ।
दार्जेलीङलाई हेरौं, त्यहाँ बस्ने प्रबासी नेपालीहरुलाई। पारिजातदेखि वांग्देलसम्म, अरुणादेखि अनुराधासम्म, पत्रकार/ कलाकार, ककारभिट्टादेखि काठमाडौँ हुदैँ कंचनपुरसम्मका बोर्डिंगका अब्बल मस्टरहरु- किन संख्यामा थोरै भएर पनि यी दार्जेलीङका हाम्रा गोत्यारहरुले यति धेरै विधाहरु ओगटेका छन/ चम्केका छन् अनि आफु र नेपाललाई पनि समृद्ध बनाएका छन्? किनभने त्यहि नेपाली नेपालमा र सिमनापारिको त्यो जिल्लामा एकदम भिन्नै किसिमले हुर्क्यो बढ्यो- यता हुने खानेले दुख गर्दै गरेनन, बसी बसी बौद्धिक र दार्शनिक चिन्तनसम्म पनि गरेनन, र जो गरिब थिए, तिनले गरिबीलाई नै नियति ठानेर हुने खनेको भरण पोषणमै जीवन यापन गरिदिए। यसरि ’हुने’ र नहुने’हरु दुवै एक आपसमा संतुस्ता भएर बसे, निस्क्रिय। उता दार्जेलीङमा कामको चटारो हुँदो हो, यसै त परदेश, त्यसमाथि बंगाली र केहि बिहारीको प्रतिस्पर्धा, के काम गर्ने, कसरि कमाउने, कसरी आफुलाई काबिल बनाउने, सीप, ज्ञान, कला, कौशल,- कसरि यो बिदेशमा आफु नेपालीहरुको गरिमा र पहिचानलाई उच्च राख्ने- यस्तै प्रश्नहरुको उत्तर खोज्दै गर्दा बनेका होलान ठूला ठूला कविहरु, कलाकार, समाजसेवी,रंगकर्मी र मलाई म्याथ पढाउने श्याम सर लगायत नेपाल देश भित्रकै अनमोल हिस्साहरु । जब देश भित्रका नेपालीहरु अझै तँ यो जात, म यो जात भन्दै राजनीति गरिरहेका छन्, उताका नेपाली दशैमा मस्त दौरा सुरवाल लगाउछन्, पुषमा उत्साहका साथ भानु जयन्ति मनाउछन् । के नेवार, के लिम्बु, के क्षेत्री,के बाहुन, उता नेपाली हुन काफी छ ।
यो उदाहरण ’नेपाली’ जाति फरक परिवेश र वातावरणमा कसरि एकदम वेग्लै किसिमले बिकसित हुन्छ भन्नलाई हो।
अब राम्रो कुरा पनि गरौँ । नेपालीको विशेषता के हो भने नेपाली बीर थिए तर रक्तपिपासु थिएनन्, कहिले भएनन्। नेपालीको मिजास ठण्डा छ, सरल छ जिन्दगि,मिलेर बस्न चाहन्छन्। उदाहरण- नेपालकै जस्तो जनसंख्या भएको देश, क्याम्बोडियामा दश वर्ष जनयुद्ध हुँदा २० लाख मान्छे मारिए । उस्तै जनसंख्या भएको अफ्रिकी मुलुक सुडानको द्वन्दमा त्यो भन्दा पनि बढिले ज्यान गुमाए। नेपालमा पनि जनयुद्धको आगो पुरा एक दशकसम्म दन्कियो, सारा देश धेर थोर प्रभावित भयो, तर तथ्यांकलाई हेर्ने हो भने (केवल उदाहरणको खातिर, जनयुद्धमा मारिएका प्रत्येक मान्छेप्रति मेरो श्रद्धा छ, र मृत्युलाई अंकमा अनुवाद गर्न हुँदैन) नेपालमा १४ हजारले ज्यान गुमाए। भन्न खोजेको के भन्दा नेपालीले हिंसामा विश्वास गर्दैन- नेपाली सदभाव र शान्तिमा विश्वास गर्छ । नत्र संसारको कुनै कुनामा, टाउकोको मूल्य तोक्ने र तोकिएका टाउकाहरुले मिलेर शासनसत्ताको प्रजातान्त्रिक हनालुच गरेको उदहारण छ? गजब छ हाम्रो मानसिकता- अघि उल्लेख गरेको राजनीतिक अपरिपक्वताको शायद सुखद बाई -प्रडक्ट । हामी कट्टर छैनौ, अंग्रेजीमा भने जस्तै हामी ’कुल’ छौ, बिन्दास छौ। त्यसैले त हामी माओबादीलाई, एमाले र कांग्रेस जस्तै ’राजनीति’ गर्ने भए किन तेत्रो मान्छे मर्नु परेको भनेर पनि सोध्दैनौ, किनभने हामीलाई लाग्छ त्यस्तो प्रश्नाहरुले बखेडा झिक्न सक्छ। आखिर, सत्य भन्दा ’शान्ति’ प्यारो हो, हामीलाई औलाको टुप्पोमा तराजु अड्याउने अभ्यास जो छ।
अमेरिका लगायत अरु पश्चिमी मुलुकहरु तेस्रो लिंगी र उनीहरु आपसको विवाहको सवालमा डरलाग्दोसँग विभाजित रहँदा, जुन देशले त्यो कुरालाई निर्बिरोध स्विकार्छ, त्यो देशलाई पक्कै उदार मान्न सकिन्छ। नेपालमा जातीयताको नाममा राजनीति गर्ने जुन लहड चलेको छ, त्यो गलत कुरा हो, त्यसको कुनै गतिलो आधार छैन । मैले नेपाली समाजमा केहि भेदभाव छैन भनेको होइन, तर जे जति छ भेदभाव, त्यसको स्थिति नाजुक छ र धेरै दिनसम्म रहनेवाला छैन- त्यसलाई अतिरन्जित गर्नु हुँदैन, किनभने यथार्थ यो हो कि एउटा नेपालीले अर्को नेपालीलाई हेर्दा आफु सरह नै देख्छ। जातियतालाई राजनीतिकरण गरेर आफ्नो निहित स्वार्थलाई परिपोषण गर्ने नेताहरुले यो कुरा बुझ्न जरुरि छ। उनीहरूकोलागि यो राजनीतिक ’सर्ट कट’ जस्तो लाग्ला, तर यो घातक कदम हो।
हामी किताब पढ़दैनौ, संसार/सिस्टम बुझ्ने प्रयत्न पनि गर्दैनौ- हाम्रो मनासिकतामा गहिराई छैन, देश प्रेम छ भन्छौ, छ पनि कता कता, तर यो माया देखाउन हामीलाई आउदैन। हामिलाई लाग्छ देश नेताहरुको जिम्मेवारी हो, र देशको दुर्दशाकालागि नेताहरुलाई खुब गालि पनि गर्छौ , तर यो बुझ्दैनौ कि नेताहरु हाम्रै उपज हुन्। हामी कान नछामी कागको पछि दगुर्छौ, अरुबाट पारिचालित/प्रयोग हुन्छौ, आपसमा झगडा गर्छौ। हामी केहि गर्नु अघि नै ’नाइँ, के होला र!’ भनेर हिच्किचाउछौ र हामी केहि गर्दै नगरी बस्छौ। हामी आफुले नै आफुलाई चिनेका छैनौ, कति प्रतिभा छ हामीसँग,कति सामर्थ। हामी निराशाबादी छौ, हामी आफुमा बिश्वास गर्दैनौ, आफुले गर्न सक्ने ठुला ठुला कुराहरुमा।
हामी लहड़े छौ, दिलदार पनि। हाम्रो लहडले प्रशान्त तामांग ’इन्डियन आइडल’ बने, अनुराधालाई पनि सीएनएन हिरो बनाउन हामीले खुब समर्थन गर्यौ, अहिले पुष्पाको पालो। मन खोलेर रबिन्द्र मिश्रलाई सहयोग गर्छौ पनि, र चलेको चलन अनुसार केहि ’सहयोग’ गरेर आफ्नो देशप्रतिको दायित्व पुरा भएको महसुस गर्छौ। तर देशकोलागि गर्नु पर्ने र हामीले गर्न सक्ने अरु धेरै छ। हो, हामीहरु पक्कै काबिल छौ, र नेपाल साँच्चै महान बन्न सक्छ, र यहाँका जनता सुखी र समृद्ध। त्यो कसरि गर्ने भनेर विचार गर्नु नै जनताको पहिलो गृहकार्य हो।
-चिरायु रेग्मी