उसको मनमा आगो थियो


अत्यधिक प्रज्ज्वलनशील संवेदनाका तेलहरुले,

श्वेत भैरवी जस्तै भोका,

फ्यागोसाईटिक सेलहरुले,

नसा भीत्र भीत्र उपेक्क्ष्याको विन्यास,

खचाखच कोचिएको,

उसको मन त देखिन्न, मुटु

तर मन,

मन भीत्र आगो थियो,

मुर्झाएको माया सुकेर बल्ने थियो,

स्नेहको सर्टिफिकेट च्यातिएको,

एकै झिल्कोमा जल्ने थियो,

मान्छेदेखि दिन दिनै उठेको रीस थियो,

मेटाबोलिजमले नमेटिने मन भरि,

देउता मर्ने बिस थियो ।

 

उसको मनमा कुनै दिन देउता बस्थे अरे,

अहिले भुत बस्छ,

त्यो पनि भेडाको भुत,

मन मनै कुरा पनि हुन्न आजकल !

डाक्टरले जाँचेको भए उसलाई,

‘मुटुको रोग’ भन्थे होला,

अरुले सरुवा ठानेर होकी,

बिस्फोट बुझेर हो बिध्रोहको,

निर्वासनमा मिल्काइदिए ।

 

 

तर ऊ पडकिएन,

छताछुल्ल भएन सडकभरि ऊ,

नेक्रोसिसले गन्हाएन, कुहिएन, गलेन ऊ,

झोसिएन,

संवेगले जोसिए पनि,

बलेन, जल्दै जलेन ऊ ।

तिर्खाले तुहिएन,

भोक भोकै ऊ मरेन,

गिद्धले लुछा लुछ गरेर,

‘इको सिस्टमलाई सघाउनु परेन ।

अरुहरु दिक्क भए,

जो उसलाई खरानी भएको,

अनि हावामा उडेर गएको

हेर्न चाहन्थे,

तर उसको मनको आगो,

उसको जलन नभएर,

आस्को उन्माद थियो,

उसको उत्साह,

उसको उर्जा थियो।

मस्तिस्कको इन्जिन,

चार हात खुट्टा- पाटपुर्जा थियो,

सन् ‘८०  को मोडेल,

‘मेड इन नेपाल’ ।

 

 

एकाध दौडहरुमा

कुद्यो पनि ऊ,

जित्यो पनि केहि पुरस्कार,

केहि शील्डहरु,

तर उसलाई ती शिल्ड भन्दा,

कार्तिक मंग्सिरको मधुरो घाम ताप्दै,

लम्पसार परेका फिल्ड्हरु,

अनि त्यसमा धुलो उडाउदै कुद्न मन पर्थ्यो।

बाटामा तेर्सिएका घोचाहरु छल्दै,

छेक्न बसेका भकुन्डे भुतहरुसँग जुध्न मन पर्थ्यो,

खोजेको भए उसले,

पानी बोकी ल्याएर,

तिर्खाएकालाई खुवाउन सक्थ्यो,

बाटो बिर्सेकालाई बोकेर,

गन्तब्यमा पुराउन सक्थ्यो,

अभाव जहाँ जहाँ थियो,

त्यहाँ नपुगेको/नभएको जुराउन सक्थ्यो,

तर उसले यसो गरेन,

कसैसँग उसले दौरा/गुइंठो,

सापटी पनि लिएन

आफ्नो आगोमा झोस्नलाई,

कसैलाई अगुल्टो पैंचो पनि दिएन,

अरुको चुलो पोस्नलाई,

कठ्यांग्रिएका हात खुट्टाहरुलाई,

उसले अवश्य न्यानो दियो,

खुसि दियो, थोरै दियो,

हाँसो दियो, स्यानो दियो।

 

 

स्वार्थी थियो, तर सभ्य थियो,

एक्लै एक्लै हिड्थ्यो,

किनकी,

यात्रा नै उसको गन्तव्य थियो।

_चिरायु रेग्मी