उज्यालो र आकर्षण

 

 

रातमा उज्यालोतिर किराहरुको आकर्षण देखेर,

उसले सराप्दै भन्यो-

‘कस्ता  साला किराहरु!’

 

 

उसलाई किराहरुसँग  किन रीस थियो कुन्नि?

ती शायेद चेतना शुन्य किराहरुसँग ,

एकोहोरो, एकनास हावामा वृत बनाउदै

उज्यालोलाई परिक्रमा गर्ने किराहरुसँग,

उसको भागको उज्यालो अलिकति छेकेकोले होला कि ?

ऊ पनि त उज्यालोको लोभी नै रहेछ।

 

 

एउटा भन्दा अर्को नजिक,

सामिप्यमा बत्तिको

ठोक्कीदैं  बल्ब को दिवारमा कहिले,

आगोको उज्यालो भए त-

त्यसैमा जल्दै कोहि कोहि,

एउटाको ठाउँ अर्कोले

खोसी हाल्ने तुरुन्तै- किराहरु सँग ?

आफु जस्तै लागेर  हो कि ?

ऊ पनि त इर्ष्याले जल्छ  कहिले कहिले,

रीसले झोकिन्छ, अहंकारले बज्रिन्छ

जमिनमा ठोकिन्छ कहिले कहिले।

 

 

बत्ति निभे पछि राति,

किराहरु खै कता जानछन् ?

पट्ट्यार लाग्दो क्यार क्यार त सुनिन्छ रातभर-

उसलाई त्यसमा पनि रिस उठ्छ,

अनि मुर्मुरैदै निदाउँछ,

बिहान आँखा मिच्दै उठ्दा,

हफिजुल कुचो लिएर आइपुग्छ,

बंगाली- जो ऊ  त्यति बुझ्दैन- मा

खै के गुन  गुनौउदै हफिजुलले बढार्छ,

कासिंगर- जसको ठुलो अंश,

किराहरु भुइँमा मरेका,

या हिजो रातिको स्खलनले शिथिल

मस्त सुतेका-

मलाई थाहा छैन,

हफिजुल्ले  बढार्छ – वास्ता नगरी।

बिहान हुने बित्तिकै,

 

 

मान्छेहरु उठ्छन् – सबेरै,

अनि खै कसको हो वरिपरी,

एकोहोरो, एकनास घुमीरहन्छन

क्यार क्यार गरिरहन्छन

पट्ट्यार लाग्दो, घिन लाग्दो- दिनभरी।

 

 

अंध्यारोमा बरु जुनकिरी उज्यालो बोकेर,

आफू कत्ति नजलिकन,

निस्किन्छ कुनै,

अविदितको यात्रामा।

 __चिरायु रेग्मी

Advertisements

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब जल-किनारका जल-चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा
स्वर्गको जादूगर्नी मतिर हाँस्दा
पत्रिएर नर्मिएर झल्किएर
बल्किएर उठ्दछन् मूक पागलझैं
फूल झैं एक किसिमका चकोर-फूल !
म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग
एक भाषा साथी !
जो लेखिन्न छापिन्न बोलिन्न
बुझाइन्न सुनाइन्न !
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ
म उसमा हेलेन र पद्यिनी पाउँछु
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्दन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो मेरो पातलो ! तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरतरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रें !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ
मलाई बुज्रुगहरुले
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

मैले नवाबको मदिरालाई खून भनेको छु
छिमेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति मेरो अवनति
यस्तै छ मोलमोलाइको उलट-पलट
साथी !
तिम्रो विश्व मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा-तपस्वीलाई भगुवा देख्दछु
मिथ्याका माच चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन-अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ
पिउँछ कानले
र अमृत भनिठानेर
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौं रौं
गर्गनका सर्पकेश झैं मेरा जिस्क्याइएका
रौं रौं !
जब बाघले मृग खान आँटेको देख्छु साथी !
या ठूलो माछाले सानो
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि
प्रकोपको लाल-लाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले म
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु साथी !
अपि्रुन्छन् मेरा कलपुर्जा
खलत्रल खलबल !
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग साथी !
बडवानलझैं बडवानलझैं !
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर-चकोर असुन्दर-फोर !
कोमल-क्रूर
चिडिया स्वर्गाग्नि-चोर
तूफान-पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर साथी !
सन्के मगज छु सन्के !
यस्तै छ मेरो हाल !

महाकवि लक्ष्मीप्रसाद देवकोटा

(आज उनको १०४ औं जन्म जयन्ती, जय होस् कवि तिम्रो ! )

अप्रेम कविता

 

 

Image

 

 

तिमि बाहेक कोहि छैन,

तर तिमि पनि छैनौँ,

तिम्लाई मात्र हेर्छु भनेको,

तर तिमि देखिदैनौं !

 

 

तिम्रो स्पर्स जस्तो

कुनै कुराले छुदैन,

धेरै धेरै मान्छे तर,

तिमि जस्तो कोहि हुदैन  ।

 

 

मलाई यो कुराहरु,

सजाएर,

छन्द मिलाएर

भन्नु पनि छैन,

किनकि तिमि यति गजब छौ,

तिम्रो बारेमा लेख्दा प्रत्येक शब्द,

आफैं माताल हुन्छ,

किनभने तिमि र अरुहरु,

जब हिसाब गर्छु म,

आकाश पाताल हुन्छ।

 

 

महिनौ दिनसम्म  हामी

झगडा गर्थेम  दिन रात,

अहिले शान्ति छ,

शोकाकुल,

समबेदनाका साथ।

 

आदम्खोरलाई मान्छेले जस्तै,

तिमीले,

अप्राप्यको अनुभूति दिएर सौगात,

आहत/ मर्माहत त होइन  म,

आकुल,  ब्याकुल अलिअलि,

अलिकति अफसोच,  अलिकति बिस्मात ।

 

 

नचाहेको होइन,  नखोजेको होइन,

नभेटेको,  नपाएको पनि होइन,

तर तिमि जस्तो कोहि छैन,

तिमि बाहेक कोहि छैन,

तर तिमि पनि छैन !

_चिरायु रेग्मी

काठमाडौँ र दशैं

Image

काठमाडौँ

उसको अबैध प्रेमिका जस्तै हो,

जसको अंगालोमा ऊ प्रत्येक रात सुत्छ,

जसको हरेक झिसमिसेमा ऊ जुर्मुरौदै उठ्छ,

जहाँ ऊ खान्छ,

हग्छ, मुत्छ,

थोरै मात्र दिएर,

सके जति सब लूटछ,

तर काठमाडौँ उसको ‘मिस्ट्रेस’  जस्तै,

किनकि यो सम्बन्ध,

त्यतिबेला सजिलै टुट्छ,

जब दशैंको लागि घर जान,

नयाँ बसपार्कबाट गाडी छुट्छ ।

 

 

‘मिस्ट्रेस’  जस्तै किनकि,

उसलाई इच्छा अनुसार

यहाँ आउने र जाने छुट छ।

 

 

ऊ यसकै आकाश मुन्तीर,

यसकै माटोमा पल्टेर,

थरि थरिका सपना देख्छ,

प्रत्येक सपना खोज्दै हिड्दा,

यसकै सडकमा पाइला टेक्छ,

ऊ गिद्धले सिनो खोजे जस्तै,

यसको भूगोललाई खुब नियालछ,

तर कानो,

न काठमाडौँको सौन्दर्य देख्छ,

न  माया गरेर मैले जस्तो,

कविता नै लेख्छ !

 

 

काठमाडौँलाई एउटै   मात्र खेद छ,

ऊ घर बन्न सकेन कसैको,

फगत होटेल जस्तो,

जसको भित्ताको र कोरेडोरको

कसैलाई पर्वाह हुँदैन,

पिलर मक्किएको / ढलान चर्कीएको,

कसैलाई थाह हुदैन ।

जहाँ बस्न हुन्छ,

तर आत्मा राख्न हुदैन,

जो सबैको साझा हुन्छ,

तर कसैको आफ्नो हुदैन ।

काठमाडौँलाई त्यति गुनासो छैन,

यस्तै हो,  भन्छ

बुझ्छ कुरा,

तर जब दशैमा घर जान,

नयाँ बसपार्कबाट गाडी छुट्छ,

हल्का चित्त दुख्छ,

अनि भीत्र भीत्रै भक्कानो फुट्छ।

_चिरायु रेग्मी