काठमाडौँ
उसको अबैध प्रेमिका जस्तै हो,
जसको अंगालोमा ऊ प्रत्येक रात सुत्छ,
जसको हरेक झिसमिसेमा ऊ जुर्मुरौदै उठ्छ,
जहाँ ऊ खान्छ,
हग्छ, मुत्छ,
थोरै मात्र दिएर,
सके जति सब लूटछ,
तर काठमाडौँ उसको ‘मिस्ट्रेस’ जस्तै,
किनकि यो सम्बन्ध,
त्यतिबेला सजिलै टुट्छ,
जब दशैंको लागि घर जान,
नयाँ बसपार्कबाट गाडी छुट्छ ।
‘मिस्ट्रेस’ जस्तै किनकि,
उसलाई इच्छा अनुसार
यहाँ आउने र जाने छुट छ।
ऊ यसकै आकाश मुन्तीर,
यसकै माटोमा पल्टेर,
थरि थरिका सपना देख्छ,
प्रत्येक सपना खोज्दै हिड्दा,
यसकै सडकमा पाइला टेक्छ,
ऊ गिद्धले सिनो खोजे जस्तै,
यसको भूगोललाई खुब नियालछ,
तर कानो,
न काठमाडौँको सौन्दर्य देख्छ,
न माया गरेर मैले जस्तो,
कविता नै लेख्छ !
काठमाडौँलाई एउटै मात्र खेद छ,
ऊ घर बन्न सकेन कसैको,
फगत होटेल जस्तो,
जसको भित्ताको र कोरेडोरको
कसैलाई पर्वाह हुँदैन,
पिलर मक्किएको / ढलान चर्कीएको,
कसैलाई थाह हुदैन ।
जहाँ बस्न हुन्छ,
तर आत्मा राख्न हुदैन,
जो सबैको साझा हुन्छ,
तर कसैको आफ्नो हुदैन ।
काठमाडौँलाई त्यति गुनासो छैन,
यस्तै हो, भन्छ
बुझ्छ कुरा,
तर जब दशैमा घर जान,
नयाँ बसपार्कबाट गाडी छुट्छ,
हल्का चित्त दुख्छ,
अनि भीत्र भीत्रै भक्कानो फुट्छ।
_चिरायु रेग्मी
Great!!….Loved it….Keep it up Chirayu 😉
thank you 🙂
अती राम्रो। मन पर्यो
धन्यवाद है 🙂
nice…lvd it
Forever in love with Bhupi ❤
Loved it! keep on sharing! best wishes 🙂
Thank You 🙂