वैदेशिक हस्तक्षेप
२००७ साल कात्तिक २१ गतेको बिहान लैनचौरस्थित भारतीय राजदुतावास अगाडी हुँइकिएर दुईटा गाडी आए। एउटा गाडी युवराज महेन्द्रले चलाएका थिए र अर्को गाडी त्यस बखतका देशका राजा स्वयं त्रिभुवनले हाँकेका थिए। नाती ज्ञानेन्द्र बाहेक सम्पूर्ण राजपरिवार गाडीबाट ओर्लियो र भारतीय राजदूतावासको शरणमा पुग्यो। यो खबर चाल पाउने बित्तिकै त्यो बेलाको नेपाल सरकार अर्थात् राणा सरकारले भारतीय राजदुतावासलाई सेनाले घेराबन्दी गर्यो तर भारतको सामरिक र कुटनीतिक शक्तिसामु उनीहरूको केही लागेन।
भोलिपल्ट ४ वर्षका वालक राजकुमार ज्ञानेन्द्रलाई राजा बनाइदिए। अर्को दिन गौचरन विमानस्थलमा दिल्लीबाट दुईवटा हवाइजहाज आए र त्रिभुवन (नाती राजा बाहेक) सम्पूर्ण परिवार सहित भारत गए। उनीहरु त्यो बेलाका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहेरूको पहुना बनेर दिल्लीको हैदराबाद हाउसमा लगभग चार महिना बसे।
यो घटनाक्रम भन्दा केही महिना अघि भारतमा अध्यन गरेका नेपालीहरु वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र सुवर्णशमशेरहरुको प्रजातान्त्रिक र राष्ट्रिय काँग्रेस, प्रजा परिषद र कम्युनिष्ट पार्टी सबैले मिलेर राजनीतिक र शैन्य गतिविधिसमेत शुरु गरिसकेका थिए, जसको आधार क्षेत्र सीमावर्ती भारतिय भूभाग नै थियो। कात्तिक २७ गते बीरगन्ज कब्जा भयो, पाल्पाको तानसेनदेखि पूर्वका पहाडहरुमा पनि सरकारी उपस्थिती कमजोर हुँदै थियो। अन्ततः जहानियाँ राणा शासनको केही लागेन- नेहेरूको मध्यस्थतामा त्रिपक्षिय दिल्ली समझौता भयो र राजा त्रिभुवन नेपाल फर्किए। फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा भयो।
यो सँगै नेपाली राजनीतिमा वैदेशिक हस्तक्षेपको शुरुवात पनि भयो।
षडयन्त्र हो कि संयोग, २००६ सालमा मुमा बडामहारानीको बाथ रोगको उपचार गर्न भनेर जर्मन नागरिक एरिका ल्यूखट्याग नेपाल आएकी थिईन। भारतीय राजदूत शुरजीत सिंहसँग पहिलेदेखि नै उनको परिचित थिए। राजा त्रिभुवनको भारतिय कुटनीतिज्ञसँग गोप्य रुपमा सम्पर्क गराउन खेलेको भूमीका उनी आफैंले लेखेको संस्मरण ‘एरिका एण्ड द किंग’ मा उल्लेख गरेकी छिन्।
राजसंस्थाको पुनर्स्थापनाको पक्षधर नेपालका ‘बुद्धिजीवी’हरूले अघि सार्ने गरेको एउटा तर्क भनेको गणतन्त्रको शुत्रपात २०६२ सालमा गरिएको १२ बुँदे सहमतिले गरेको थियो। त्यो भारतीय भूमिमा भएको थियो, भारतीय मध्यस्थतामा। बिना कुनै जनमतसंग्रह, जनतालाई सोध्दै नसोधी यत्रो ठूलो निर्णय कसरी गर्न पाईन्छ भन्ने उनीहरुको तर्क पनि जायज नै मान्न सकिन्छ।
तर यी दुवै तर्कहरु राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा पनि लागू हुन्छन्। अब सामन्तवादबाट प्रजातन्त्र तर्फको यात्रा प्राकृतिकलाई मान्ने हो र राणाशासनको अन्त्य ठीक थियो भन्ने हो भने राजतन्त्रबाट गणतन्त्र तर्फको यात्रा पनि स्वभाविक नै मान्नुपर्ला। जनताको चेतनाको स्तर विकसित हुँदै जाँदा राजनीतिक सर्वोच्चता आम जनतामा निहित हुनुपर्छ भन्ने चाहानु अपबाद होईन।
अमेरिकाको स्वतन्त्रताकोलागि पनि फ्रान्सेली सहयोग, बाङ्लादेशको मुक्तियुद्धमा भारतिय संलग्नता, अलजेरियादेखि कंगोसम्मका अफ्रिकी उपनिवेशहरुको स्वाधिनताकोलागि रुसले गरेको समर्थन महत्वपूर्ण थियो। वैदेशिक सहयोगमा भएका सबै परिवर्तनहरु नराम्रा हुन्छन् भन्ने होइन।
सामाजिक तथा आर्थिक विकासका कुरा
राजा महेन्द्र नेपाली इतिहासमा मलाई मनपर्ने व्यक्ति हुन्। उनले प्रत्यक्षरुपमा देशमा शासन गरेको थोरै समयमा धेरै विकास निर्माणको काम गरेका थिए- सडक, स्कुल र अस्पतालहरु बनाएका थिए। नेपालमा वास्तविक अर्थको भूमिसुधार उनकै पालामा भएको थियो, जसले श्रोत साधनको पहुँचलाई केही समतामुलक बनायो। आधुनिक नेपालको निर्माणको लागि जग उनले हालेका थिए र अहिले देशले जे जति छ प्रगती गरेकोछ, त्यसकै धरातलमा उभिएर गरेकोछ।
उनको राजनैतिक र कूटनीतिक चातुर्यले गर्दा नेपाल एउटा सार्वभौमिकता भएको देशको रूपमा अविछिन्न रूपमा अस्तित्वमा रहन सकेको पनि हो। त्यो वेला सिक्किम जस्तो भारतमा सम्पूर्णरुपमा विलय नभए पनि भुटानको जस्तो आर्थिक, वैदेशिक र सुरक्षा नीति भारतपरस्त रहने जोखिम थियो- उनले त्यसो हुन दिएनन्। यसको श्रेय राजा महेन्द्रलाई दिनुपर्छ।
महेन्द्रबाहेक राजा पृथ्वीनारायण शाहले देशको एकीकरणकालागि, राजा त्रिभुवनले प्रजातन्त्रकोलागि, राजा बिरेन्द्रले बहुदलकोलागि र राजा ज्ञानेन्द्रले गणतन्त्र स्थापनाकोलागि आफ्नै किसिमको भूमिका खेलेका थिए।
राजा ज्ञानेन्द्रलाई संसद बिघटन गरेर निरंकुशता लादेको भन्ने दोष लाग्छ, तर उनलाई हामी जति ठूलो तानशाह भनेर चित्रित गर्छौं उनी त्यती नराम्रा मान्छे भने पक्कै होईनन्। २३९ वर्षको इतिहास बोकेको राजसंस्थालाई उनले निकै सजिलोसँग, ‘जनताको नासो जनतालाई सुम्पिन्छु’ भनेर छोडीदिए। यो उनको महानता हो। विश्वका नयाँ र पूराना उदाहरणहरु हेर्ने हो भने तानशाहहरुले राजगद्दी त्यसै छोड्दैनन्, ठूलो नरसंहारपछि मात्र यो प्राय सम्भव हुन्छ।
राजा महेन्द्रले दिएका केही योगदानहरू राजतन्त्र पुनर्स्थापनाको तर्क हुनसक्छ भने राणाहरुले पनि आफ्नो शासनकालमा गरेका कामहरुलाई बिर्सनु हुँदैन।
हामी अहिले नक्सामा मात्रै भएपनि देशको गुमेको एउटा चुच्चो फिर्ता ल्याउन सकेकोमा गर्व गर्छौं। जंगबहादुरले सुगौली सन्धिमा नेपालले गुमाएको भूभागको एकतिहाई अंश, बाँके-बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएका थिए। उनलेको पालामा मुलुकी ऐन पहिलोपटक जारी भयो र कानुनी राज्यको विधिवत स्थापना पनि भयो।
बहुदलको ३२ बर्षमा हामीले २८ पटक प्रधानमन्त्री फेरेछौं। राणा शासनको बेलामा कमसेकम रजनितिक स्थायित्व थियो। चन्द्रशमशेरले तीन दशक राज्य गरेका थिए। सतिप्रथा जस्तो कुसंस्कारलाई अन्त्य गरे, दासहरुलाई उन्मुक्ती दिए, त्रिचन्द्र कलेज खोले, अमलेखगञ्जमा रेल चलाए। मकवानपुर र बारा जोड्न चुरेमा ‘फास्ट ट्रयाक’- सुरुङ्गमार्ग बनाए, रौतहटमा बस्ती बसाए, सिँचाइकालागि नहरहरुको निर्माण गरे। अहिले मुलुकको प्रशासनिक केन्द्र बसेको सिंहदरबार उनैले बनाएका थिए। फर्पिङ्गमा एसिया महादेशकै दोस्रो जलविद्युत केन्द्र स्थापना गरेर एक शताब्दि अघि नै काठ्माण्डौमा बत्ती बालीसकेका थिए।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणले अझै आफ्नो काम सनतोषजनक हिसाबले पुरा गर्न सकेको छैन। ‘९० सालको भूँईचालोपछि जुद्दशमशेरले पुनर्निमाण मात्रै गरेनन्, खानेपानी, ढल निकास, वारुणयन्त्रसहितको शहरी विकास पनि गरे। वीर अस्पताल, घण्टाघर, वीरधारा र सफाई अड्डा वीरशमशेरले बनाए, देवशमशेरले दरबार हाई स्कुलमा सर्वसधारणलाई प्रवेश दिए, पत्रिका निकाले। गेहेन्द्र शमशेरले केही नविनतम आविष्कारहरु गरे।
समाजिक र पूर्वाधार निर्माणको फेहेरिस्त हेर्ने हो भने शाहवंशीय राजाहरुले भन्दा धेरै बढि कामहरु राणाहरुले गरेको देखिन्छ।
आधिकारिक राजा को ?
राजामा बिष्णु हुन्छन् भन्ने कुरा मेरो हजुरवुवाले मान्नुहुन्थ्यो, मलाई त्यसमा विश्वास छैन तर म गलत पनि हुन सक्छु। एकछिनलाई मानौं साच्चै नै श्री विष्णु भगवान अथवा उनको केही अंश देश राम्ररी चलाउन, जनतालाई शासन गर्न राजा बनेर आउँछन्। तर यो मान्यताले एउटा जटिल प्रश्न खडा गर्छ।
पृथ्वीनारायण शाहलाई गोरखनाथले आशिष दिएका थिए तर काठमाडौंका प्रताप मल्ल पनि त तलेजू भवानीसँग बसेर जुवा खेल्थे। झन मल्लकालीन इतिहास ६०० बर्ष लामो छ। शाहवंशीय राजाको पुनर्स्थापना गर्ने हो भने काठमाडौंमा मल्लको र पूर्वमा किरातको किन नगर्ने? हामीले अहिले बिदेशी शक्तिलाई जुन हाउजी भनीठान्छौं, त्यस्तै एउटा छिमेकी लमजुङ्ग देशका राजकुमार द्रवय शाहले ‘झेली’ गरेर लिगलिगकोट जीतेका र पछि गोरखा राज्यको निर्माण गरेका थिए। कुनै समयको काठमाडौँ, ‘नेपाल’ देशकोलागि गोरखा पनि फेरि बिदेशी शक्ती नै थियो। न भाषा मिल्थ्यो, न चालचलन। अर्थ-राजनीति, संस्कृति सबै फरक थियो। वडा महाराजले काठमाडौँ जित्दा सबै युद्धका नियमहरु पालना गरेका थिए भनेर म भन्न सक्दिन।
इतिहास खैर, जित्नेहरुकै हुन्छ र शाहवंशीय राजाहरूले पराक्रमले नै देश एकीकरण गरेका होलान, तर एकीकरणको २५४ वर्षपछि त्यही संस्थाको पुनर्स्थापनाको लागि एउटा किराँत केटो किन लड्नु पर्ने?
राजतन्त्र बनाम प्रजातन्त्र
२०४४ सालमा भएको साफ च्याम्पियनसिपमा नेपालका म्याराथनमा खेलाडी बैकुण्ठ मानन्धरले स्वर्णपदक जीते। उनले त्यसबखत राखेको कृतिमान साफ खेलकुदमा अझै तोडिएको छैन। सम्भवतः उनका कुलमा अरु पनि योग्य खेलाडीहरु जन्मिएका होलान्, किनभने शारीरिक सुगठन र चुस्ती केही वंशाणुगत पनि हुन्छ।
तर हामी आगामी दिनमा हुने दौडहरुमा बैकुण्ठ मानन्धरका छोरा अथवा छोरीलाई सिधै प्रवेश दिदैनौं। उनीहरूले सिधै अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिएर पदक जित्ने सम्भावना कम हुन्छ। जिल्लामा छानिएका खेलाडीहरु राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्छन् र सर्वोत्कृष्ट हुनेलाई अन्तराष्ट्रिय प्रतियोगितामा पठाउँछौ। त्यसो गर्दा देशले पदक जित्न सक्ने सम्भावना बढी रहन्छ।
मलाई प्रजातन्त्रप्रति विशेष अनुराग त छैन। प्रजातन्त्रको नाममा मौलाएको विसंगति र विकृती देख्दा, बरु कोही निरंकुश तर निस्वार्थ, बहादुर तर बुद्धिमान शासक भइदिए हुन्थ्यो भन्ने अनायाश सोचेको पनि छु- शायद मेरो कल्पनाका महेन्द्र जस्तो, शायद बीपी जस्तो। तर त्यसो भन्दैमा उनका सन्तान दरसन्तानले देश राम्ररी चलाउन सक्छन् भनेर सोच्नु मुर्खता हो। तपाईलाई मलाई जति मन नपरेपनि, एउटा राम्रो मान्छेलाई चुनिएर आउने र देश चलाउने मौका भनेको प्रजातन्त्रले मात्र दिन्छ।
कसका लागि ?
रबिन्द्र मिश्रले आफ्नो भाषण क्रममा पटकपटक भन्ने गर्छन्, मैले यो सब राजाको लागि गरेको होइन। म उनको यो भनाइप्रति सहमत छु। शाहवंशीय राजाहरूको १४ पुस्ताको इतिहासमा कुनै राजा पनि धेरै खुसी र सुखी भएको पाउन सकिदैन। अधिकांशले आफ्नो जिन्दगीको औसत आयु समेत बाँच्न पाएनन् (प्रताप सिंह २६, रणबहादुर ३०, गृवाण १९, पृथ्वी वीर ३०, दिपेन्द्र २९)। रणबहादुर आफ्नो भाईद्वारा काटिए, राजा त्रिभुवन राजा र महेन्द्रको अन्त्य पनि शंकास्पद नै मानिन्छ। सबैका प्यारा राजा बिरेन्द्रको सपरिवार दुखद अन्त्य हाम्रो सम्झनामा ताजै छ। राजेन्द्रले दुईपटक राणाहरुसँग लडेर हारेर, देशबाट भागेर पराजित जिन्दगी बिताए। सुरेन्द्रले छोरा त्रैलोक्यको अस्वभाविक मृत्यू भोग्नुपर्यो। धेरैले त राणाहरुको नजरबन्दमा नै आफ्नो जीन्दगी बिताए। त्यसैले यदि पूर्वराजा र तिनका सन्तानहरुको सुख र खुशी चाहने हो भने यो अभिशप्त प्रोपागाण्डाबाट अलग राख्दा हुन्छ।
जनताकोलागि त उनले हिजोका दिनसम्म व्यवस्था हैन अवस्था परिवर्तन भन्थे- फेरि पनि व्यवस्था परिवर्तनको रडाँको कसका लागि?
केही सम्भावनाका कुराहरु
एउटा झिनो सम्भावना- यति धेरै राजनीतिक कुसंस्कार देखेर उनले साँच्चीकै ठानेका छन् कि देशका सबै समस्याका समाधानहरुको राजसंस्थाको पुनर्स्थापना गरेर हुन्छ। तर कसरी हुन्छ? उनले त्यसको व्याख्या गरेको मैले सुनेको छैन।
अर्को सम्भावना अलि प्रबल छ। उनलाई सब थाहा छ- केही फरक पर्नेवाला छैन, राजा आउँदैमा या नआउँदैमा- तर यही नारामा भोट आउन सक्छ। परम्परागत राजनीतिक दलहरुसँग दिक्क भएका जनताहरूको मनोविज्ञान उनले राम्ररी बुझेका छन्।
उनीले आफै पनि र उनका शुभचिन्तकहरुले भन्ने गरेको एउटा लोकप्रिय प्रशंसाको वाक्य छ- रबिन्द्र मिश्रको बाटो गलत होला तर उनले बेइमानी गर्दैनन्, देशप्रति गद्दारी गर्दैनन्।
वैकल्पिक राजनीतिको एउटा ध्वजावाहक थियो, विवेकशील साझा नामको। स्थानीय निकायको चुनावमा लज्जास्पद हार भएपछि उनी आफूले त राप्रपाको धावनमार्गमा सेफ ल्याण्डिङ गरे तर वैकल्पिक राजनीतिको यात्रा दुर्घटनामा पर्यो। त्यो बेइमानी होइन? मिलन पाण्डेलगायतले चुनाव अघि नै तपाईले राप्रपासँग गरेको छलफल, सरसल्लाह के हो, केन्द्रिय कमिटिको बैठक डाकेर खुलस्त पार्नुहोस् भन्दा छैन, हैन भनिरहे, आफू इतर समुहलाई पार्टीबाटै निकालिदिए। त्यो धोका हैन? अहिले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न देशमा धार्मिक मुद्दा गिजोल्दैछन्। उनको दलको नेता राजेन्द्र लिङ्गदेलले धर्मको नाममा ज्यान दिन र लिन सक्ने भारतका कट्टरपन्थी हिन्दुहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन्। यो उक्साहट देशप्रतिको गद्दारी होइन?
उनको व्यक्तिगत कदमले विवेकशील साझासँग जोडिएका युवाहरूलाई कति ठूलो राजनीतिक क्षति पुगेको छ, त्यसको विश्लेषण उनकोलागि अहिले भोट माग्दै हिडेका साथीहरुले कुनैदिन स्वयं गर्लान।
र अर्को सम्भावना भनेको, म आफै गलत हुनसक्छु सम्पूर्णरूपमा। मेरा यी सब तर्कहरू बेकारका होलान्। यदि त्यसो हो भने, ‘बदलिँदो अन्तराष्ट्रिय भूराजनीतिक जटिलताको भुमरीबाट देशलाई बचाउन’ राजाले मात्रै सक्ने हो भने, संसदले बाँधेको संवैधानिक राजसंस्था मागेर काम छैन, प्रत्यक्ष कार्यकारी राजा माग्नुपर्छ। राजनीतिक दलहरु यदि सबै समस्याका जडहरु हुन् भने गैरदलिय व्यवसथा ल्याउनु पर्छ। त्यतिले पनि पुग्दैन भने पशुपति शमशेरको नाति खोजौ।
Image Source: historylessonsnepal.blogspot