त्यो के मान्छे ?

ButterflyLifeCycle

त्यो के मान्छे जो,

यथास्थितीमै दङ्ग परेर

निर्जीव निर्जीव झैँ

मुर्छित मुर्छित झैँ

र्याल काढेर,

अनि आफ्नै र्यालको कोकुनमा

गुटुमुटि डल्लो परेर,

न्यानो मानेर,

बाहिर निस्किन चाहन्न-

पुतली बनेर, उड्न चाहन्न ।

 

त्यो सुकेको प्याज जस्तै

चम्किलो आवरणको दम्भमा,

कौसीको एउटा खम्बामा,

वा भान्छाको एउटा कुनामा थन्किरहन्छ,

कहिले भुटिएर, कहिले काँचै

कसैको मुखबाट गन्ध बनेर छुट्छ

र कोठाभरि रन्किरहन्छ –

अमिलो र अप्रिय ।

 

प्याज फुलेको देखेको छौ?

त्यो फुल्ने प्याज बन तिमी !

 

बर्षौ बुइगलमा थन्केर पनि

एक रात भिज्न पाएमा,

गमक्क फुलेर प्राण झैँ

मुसु मुसु मुस्काउदै

आकाशतीर टुसाउने

तिमी क्वाँटी बन ।

 

जाऊ,

वर्षातमा रुझ्न जाऊ

माटोभीत्र आफ्नो जरा बुझ्न जाऊ

सके जति फूल, फक्र, फल तिमी –

हुरी आउछ, खुब हल्लाउछ,

असिनाले खुब चुट्छ,

तर नझर, कत्ति नगल तिमी  ।

 

आकाश छुन्छु जस्तै गरेर उम्र तिमी,

चरा हुन्छु जस्तै गरेर उफ्र तिमी

किनकि जिन्दगि जेनतेन बाँचेर

बुढेसकालमा हृदयघातले

उपलब्धिहीन, असन्तुस्ट

मर्नलाई होइन,

गजब गजबका कुराहरु,

गर्नलाई हो!

 

Advertisements

उसको मनमा आगो थियो


अत्यधिक प्रज्ज्वलनशील संवेदनाका तेलहरुले,

श्वेत भैरवी जस्तै भोका,

फ्यागोसाईटिक सेलहरुले,

नसा भीत्र भीत्र उपेक्क्ष्याको विन्यास,

खचाखच कोचिएको,

उसको मन त देखिन्न, मुटु

तर मन,

मन भीत्र आगो थियो,

मुर्झाएको माया सुकेर बल्ने थियो,

स्नेहको सर्टिफिकेट च्यातिएको,

एकै झिल्कोमा जल्ने थियो,

मान्छेदेखि दिन दिनै उठेको रीस थियो,

मेटाबोलिजमले नमेटिने मन भरि,

देउता मर्ने बिस थियो ।

 

उसको मनमा कुनै दिन देउता बस्थे अरे,

अहिले भुत बस्छ,

त्यो पनि भेडाको भुत,

मन मनै कुरा पनि हुन्न आजकल !

डाक्टरले जाँचेको भए उसलाई,

‘मुटुको रोग’ भन्थे होला,

अरुले सरुवा ठानेर होकी,

बिस्फोट बुझेर हो बिध्रोहको,

निर्वासनमा मिल्काइदिए ।

 

 

तर ऊ पडकिएन,

छताछुल्ल भएन सडकभरि ऊ,

नेक्रोसिसले गन्हाएन, कुहिएन, गलेन ऊ,

झोसिएन,

संवेगले जोसिए पनि,

बलेन, जल्दै जलेन ऊ ।

तिर्खाले तुहिएन,

भोक भोकै ऊ मरेन,

गिद्धले लुछा लुछ गरेर,

‘इको सिस्टमलाई सघाउनु परेन ।

अरुहरु दिक्क भए,

जो उसलाई खरानी भएको,

अनि हावामा उडेर गएको

हेर्न चाहन्थे,

तर उसको मनको आगो,

उसको जलन नभएर,

आस्को उन्माद थियो,

उसको उत्साह,

उसको उर्जा थियो।

मस्तिस्कको इन्जिन,

चार हात खुट्टा- पाटपुर्जा थियो,

सन् ‘८०  को मोडेल,

‘मेड इन नेपाल’ ।

 

 

एकाध दौडहरुमा

कुद्यो पनि ऊ,

जित्यो पनि केहि पुरस्कार,

केहि शील्डहरु,

तर उसलाई ती शिल्ड भन्दा,

कार्तिक मंग्सिरको मधुरो घाम ताप्दै,

लम्पसार परेका फिल्ड्हरु,

अनि त्यसमा धुलो उडाउदै कुद्न मन पर्थ्यो।

बाटामा तेर्सिएका घोचाहरु छल्दै,

छेक्न बसेका भकुन्डे भुतहरुसँग जुध्न मन पर्थ्यो,

खोजेको भए उसले,

पानी बोकी ल्याएर,

तिर्खाएकालाई खुवाउन सक्थ्यो,

बाटो बिर्सेकालाई बोकेर,

गन्तब्यमा पुराउन सक्थ्यो,

अभाव जहाँ जहाँ थियो,

त्यहाँ नपुगेको/नभएको जुराउन सक्थ्यो,

तर उसले यसो गरेन,

कसैसँग उसले दौरा/गुइंठो,

सापटी पनि लिएन

आफ्नो आगोमा झोस्नलाई,

कसैलाई अगुल्टो पैंचो पनि दिएन,

अरुको चुलो पोस्नलाई,

कठ्यांग्रिएका हात खुट्टाहरुलाई,

उसले अवश्य न्यानो दियो,

खुसि दियो, थोरै दियो,

हाँसो दियो, स्यानो दियो।

 

 

स्वार्थी थियो, तर सभ्य थियो,

एक्लै एक्लै हिड्थ्यो,

किनकी,

यात्रा नै उसको गन्तव्य थियो।

_चिरायु रेग्मी

मध्यान्न दिन र चिसो निद्रा

        • भूपि शेरचन

          (स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्

           

          अखबारको ‘वान्टेड कालम’ –मा
          म आफ्ना आउने दिनहरुको अनुहार
          खोजिरहेछु,
          प्रत्येक जुलूस, सभा, भाषण
          र नयाँ योजनाका फाइलहरुमा
          पाइला टेक्ने आधार खोजिरहेछु—

          नयाँ बजेटको ओठमा
          खोजिरहेछु आश्वासन
          रेडियो–घोषणासँग मागिरहेछु
          सान्त्वनाका दुई शब्द
          नयाँ पे–स्केलले नापिरहेछु
          म आफ्नो परिवारको आयु;

          प्रत्येक खाली सिटको सूचनाले
          मलाई जवान बनाउँछ
          प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
          जीवन, काखीको पसीनाझैं गन्हाउँछ,
          आमाको ममतामा पनि
          कसैले नैराश्य घोल्दछ,

          बाबुको प्रोत्साहनमा पनि
          चिसो सुस्केरा बोल्दछ
          कुमारी बहिनीको स्यूँदोसँग, सिन्दूर
          झस्के झैं लाग्छ
          पत्नीले थालमा सधै–सधै
          व्यङ्ग्य पस्के झैं लाग्छ

          एक युग बित्यो
          म आफ्नो बिन्तीपत्रजस्तो अनुहार
          बोकेर
          भट्किरहेछु दर–दर
          पुगिरहेछु घर–घर,
          एक चिसो निद्राले मलाई छोपिरहेछ निरन्तर,
          मलाई थाहा छ
          यसपल्ट म निदाएँ भने
          फेरि कहिल्यै पनि म बिउँझन सक्दिन
          त्यसैले ए झुसिल्कीराझैं  लाम लागेकाहरु !
          ए नाराका अक्षरहरु !
          अरु जोर–जोरसित नारा लगाऊ
          उफ् ! म निदाउन चाहन्नँ यो दिउँसै
          मलाई जगाऊ, मलाई जगाऊ ।

मेरो चोक

भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन?

सबथोक छ

अनन्त भोक छ, असङ्ख्य रोग छ,

केवल हर्ष छैन,

यहा त्यसमाथि पनि  रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन?

सबथोक छ ।

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन् ।

मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ,
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ न कसैले पुज्छ, न कसैले ढोग्छ!
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन?

सबथोक छ!

मैनबतीको शिखा

__भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी मानौं,

अप्रेशनपछि होशमा आएर,

घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प, ढलिरहेछ अश्रुधार ।

मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

हामी

हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघूमानव हौं।

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन
नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने,
हिँडाउनुपर्ने

हामी रङ्ग-रोगन छुटेका….,हामी.

कठै, बिचरा भूपि शेरचन!

भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

Image

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन् लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !