त्यो के मान्छे ?

ButterflyLifeCycle

त्यो के मान्छे जो,

यथास्थितीमै दङ्ग परेर

निर्जीव निर्जीव झैँ

मुर्छित मुर्छित झैँ

र्याल काढेर,

अनि आफ्नै र्यालको कोकुनमा

गुटुमुटि डल्लो परेर,

न्यानो मानेर,

बाहिर निस्किन चाहन्न-

पुतली बनेर, उड्न चाहन्न ।

 

त्यो सुकेको प्याज जस्तै

चम्किलो आवरणको दम्भमा,

कौसीको एउटा खम्बामा,

वा भान्छाको एउटा कुनामा थन्किरहन्छ,

कहिले भुटिएर, कहिले काँचै

कसैको मुखबाट गन्ध बनेर छुट्छ

र कोठाभरि रन्किरहन्छ –

अमिलो र अप्रिय ।

 

प्याज फुलेको देखेको छौ?

त्यो फुल्ने प्याज बन तिमी !

 

बर्षौ बुइगलमा थन्केर पनि

एक रात भिज्न पाएमा,

गमक्क फुलेर प्राण झैँ

मुसु मुसु मुस्काउदै

आकाशतीर टुसाउने

तिमी क्वाँटी बन ।

 

जाऊ,

वर्षातमा रुझ्न जाऊ

माटोभीत्र आफ्नो जरा बुझ्न जाऊ

सके जति फूल, फक्र, फल तिमी –

हुरी आउछ, खुब हल्लाउछ,

असिनाले खुब चुट्छ,

तर नझर, कत्ति नगल तिमी  ।

 

आकाश छुन्छु जस्तै गरेर उम्र तिमी,

चरा हुन्छु जस्तै गरेर उफ्र तिमी

किनकि जिन्दगि जेनतेन बाँचेर

बुढेसकालमा हृदयघातले

उपलब्धिहीन, असन्तुस्ट

मर्नलाई होइन,

गजब गजबका कुराहरु,

गर्नलाई हो!

 

Advertisements

In a dark alley Called Life

(This is a translation of a poem called- jivan ko andhyaro sadakma by my most favorite Bhupi Serchan)

Untitled

 

In this dark alley of life

Success,

is like a bicycle head light

at the end of a dynamo.

as long as I pace up,

with my foots on the pedal-

the bulb shines my road.

When I tire,

and my legs retire-

darkness comes front,

and barks.

 

तिमी आऊ

OLYMPUS DIGITAL CAMERA

 

__चिरायु रेग्मी

रंगिन बनेर आऊ, या रंगहीन बनेर आऊ

साधु बनेर आऊ, या संगीन बनेर आऊ,

संसार बनेर आऊ, या शून्य बनेर आऊ,

पाप बनेर आऊ, या पुण्य बनेर आऊ ।

 

भिरुले नमन गरेझै, घुंडा धसेर आऊ, या

मुर्मुराऊदै, कराउदै- मुठ्ठी कसेर आऊ,

काली न काली, महाकाली बनेर आऊ,

भयङ्कर  शक्तिशाली बनेर आऊ,

हुंकार गर्दै क्रुद्ध बनेर आऊ, या

चुपचाप बुद्ध बनेर आऊ,

तिमि शान्त शिला बनेर आउ, या

उन्मत्त लिला बनेर आउ।

 

औंसीको कालो बनेर आउ, या

एकदम उज्यालो बनेर आउ,

मुर्ख बनेर आउ, या

वाल्मिकी, वेद व्यास बनेर आउ,

एकनास मिलेको विन्यास बनेर आउ, या

केर मेर, अस्पस्ट अत्यास बनेर आउ।

 

आगतको आशा बनेर आउ, या

पाण्डवको पाशा बनेर आउ,

प्रश्न बनेर आउ, या तिमी

परिभाषा बनेर आउ।

 

कोलाहलमा आउ , कि समाधीमा आउ

पत्झर झै उड्दै तिमी,

आँधीमा आउ !

 

आकुल व्याकुल रातमा आउ, या

फूल लिई अन्जुलिमा,

प्रभातमा आउ।

झम्टिदै अंगालोमा बाँधिन आउ, या

थोरै टाढा बसेर मुस्कुराउ,

दृश्य बनि आउ तिमी , श्रव्य बनि आउ,

गुमराह यो ग्वालोको, गन्तव्य बनि आउ।

 

तिमी  आउ,

यो जीवन जगाउ !

 

 

अप्रेम कविता

 

 

Image

 

 

तिमि बाहेक कोहि छैन,

तर तिमि पनि छैनौँ,

तिम्लाई मात्र हेर्छु भनेको,

तर तिमि देखिदैनौं !

 

 

तिम्रो स्पर्स जस्तो

कुनै कुराले छुदैन,

धेरै धेरै मान्छे तर,

तिमि जस्तो कोहि हुदैन  ।

 

 

मलाई यो कुराहरु,

सजाएर,

छन्द मिलाएर

भन्नु पनि छैन,

किनकि तिमि यति गजब छौ,

तिम्रो बारेमा लेख्दा प्रत्येक शब्द,

आफैं माताल हुन्छ,

किनभने तिमि र अरुहरु,

जब हिसाब गर्छु म,

आकाश पाताल हुन्छ।

 

 

महिनौ दिनसम्म  हामी

झगडा गर्थेम  दिन रात,

अहिले शान्ति छ,

शोकाकुल,

समबेदनाका साथ।

 

आदम्खोरलाई मान्छेले जस्तै,

तिमीले,

अप्राप्यको अनुभूति दिएर सौगात,

आहत/ मर्माहत त होइन  म,

आकुल,  ब्याकुल अलिअलि,

अलिकति अफसोच,  अलिकति बिस्मात ।

 

 

नचाहेको होइन,  नखोजेको होइन,

नभेटेको,  नपाएको पनि होइन,

तर तिमि जस्तो कोहि छैन,

तिमि बाहेक कोहि छैन,

तर तिमि पनि छैन !

_चिरायु रेग्मी

काठमाडौँ र दशैं

Image

काठमाडौँ

उसको अबैध प्रेमिका जस्तै हो,

जसको अंगालोमा ऊ प्रत्येक रात सुत्छ,

जसको हरेक झिसमिसेमा ऊ जुर्मुरौदै उठ्छ,

जहाँ ऊ खान्छ,

हग्छ, मुत्छ,

थोरै मात्र दिएर,

सके जति सब लूटछ,

तर काठमाडौँ उसको ‘मिस्ट्रेस’  जस्तै,

किनकि यो सम्बन्ध,

त्यतिबेला सजिलै टुट्छ,

जब दशैंको लागि घर जान,

नयाँ बसपार्कबाट गाडी छुट्छ ।

 

 

‘मिस्ट्रेस’  जस्तै किनकि,

उसलाई इच्छा अनुसार

यहाँ आउने र जाने छुट छ।

 

 

ऊ यसकै आकाश मुन्तीर,

यसकै माटोमा पल्टेर,

थरि थरिका सपना देख्छ,

प्रत्येक सपना खोज्दै हिड्दा,

यसकै सडकमा पाइला टेक्छ,

ऊ गिद्धले सिनो खोजे जस्तै,

यसको भूगोललाई खुब नियालछ,

तर कानो,

न काठमाडौँको सौन्दर्य देख्छ,

न  माया गरेर मैले जस्तो,

कविता नै लेख्छ !

 

 

काठमाडौँलाई एउटै   मात्र खेद छ,

ऊ घर बन्न सकेन कसैको,

फगत होटेल जस्तो,

जसको भित्ताको र कोरेडोरको

कसैलाई पर्वाह हुँदैन,

पिलर मक्किएको / ढलान चर्कीएको,

कसैलाई थाह हुदैन ।

जहाँ बस्न हुन्छ,

तर आत्मा राख्न हुदैन,

जो सबैको साझा हुन्छ,

तर कसैको आफ्नो हुदैन ।

काठमाडौँलाई त्यति गुनासो छैन,

यस्तै हो,  भन्छ

बुझ्छ कुरा,

तर जब दशैमा घर जान,

नयाँ बसपार्कबाट गाडी छुट्छ,

हल्का चित्त दुख्छ,

अनि भीत्र भीत्रै भक्कानो फुट्छ।

_चिरायु रेग्मी

उसको मनमा आगो थियो


अत्यधिक प्रज्ज्वलनशील संवेदनाका तेलहरुले,

श्वेत भैरवी जस्तै भोका,

फ्यागोसाईटिक सेलहरुले,

नसा भीत्र भीत्र उपेक्क्ष्याको विन्यास,

खचाखच कोचिएको,

उसको मन त देखिन्न, मुटु

तर मन,

मन भीत्र आगो थियो,

मुर्झाएको माया सुकेर बल्ने थियो,

स्नेहको सर्टिफिकेट च्यातिएको,

एकै झिल्कोमा जल्ने थियो,

मान्छेदेखि दिन दिनै उठेको रीस थियो,

मेटाबोलिजमले नमेटिने मन भरि,

देउता मर्ने बिस थियो ।

 

उसको मनमा कुनै दिन देउता बस्थे अरे,

अहिले भुत बस्छ,

त्यो पनि भेडाको भुत,

मन मनै कुरा पनि हुन्न आजकल !

डाक्टरले जाँचेको भए उसलाई,

‘मुटुको रोग’ भन्थे होला,

अरुले सरुवा ठानेर होकी,

बिस्फोट बुझेर हो बिध्रोहको,

निर्वासनमा मिल्काइदिए ।

 

 

तर ऊ पडकिएन,

छताछुल्ल भएन सडकभरि ऊ,

नेक्रोसिसले गन्हाएन, कुहिएन, गलेन ऊ,

झोसिएन,

संवेगले जोसिए पनि,

बलेन, जल्दै जलेन ऊ ।

तिर्खाले तुहिएन,

भोक भोकै ऊ मरेन,

गिद्धले लुछा लुछ गरेर,

‘इको सिस्टमलाई सघाउनु परेन ।

अरुहरु दिक्क भए,

जो उसलाई खरानी भएको,

अनि हावामा उडेर गएको

हेर्न चाहन्थे,

तर उसको मनको आगो,

उसको जलन नभएर,

आस्को उन्माद थियो,

उसको उत्साह,

उसको उर्जा थियो।

मस्तिस्कको इन्जिन,

चार हात खुट्टा- पाटपुर्जा थियो,

सन् ‘८०  को मोडेल,

‘मेड इन नेपाल’ ।

 

 

एकाध दौडहरुमा

कुद्यो पनि ऊ,

जित्यो पनि केहि पुरस्कार,

केहि शील्डहरु,

तर उसलाई ती शिल्ड भन्दा,

कार्तिक मंग्सिरको मधुरो घाम ताप्दै,

लम्पसार परेका फिल्ड्हरु,

अनि त्यसमा धुलो उडाउदै कुद्न मन पर्थ्यो।

बाटामा तेर्सिएका घोचाहरु छल्दै,

छेक्न बसेका भकुन्डे भुतहरुसँग जुध्न मन पर्थ्यो,

खोजेको भए उसले,

पानी बोकी ल्याएर,

तिर्खाएकालाई खुवाउन सक्थ्यो,

बाटो बिर्सेकालाई बोकेर,

गन्तब्यमा पुराउन सक्थ्यो,

अभाव जहाँ जहाँ थियो,

त्यहाँ नपुगेको/नभएको जुराउन सक्थ्यो,

तर उसले यसो गरेन,

कसैसँग उसले दौरा/गुइंठो,

सापटी पनि लिएन

आफ्नो आगोमा झोस्नलाई,

कसैलाई अगुल्टो पैंचो पनि दिएन,

अरुको चुलो पोस्नलाई,

कठ्यांग्रिएका हात खुट्टाहरुलाई,

उसले अवश्य न्यानो दियो,

खुसि दियो, थोरै दियो,

हाँसो दियो, स्यानो दियो।

 

 

स्वार्थी थियो, तर सभ्य थियो,

एक्लै एक्लै हिड्थ्यो,

किनकी,

यात्रा नै उसको गन्तव्य थियो।

_चिरायु रेग्मी

मध्यान्न दिन र चिसो निद्रा

        • भूपि शेरचन

          (स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्

           

          अखबारको ‘वान्टेड कालम’ –मा
          म आफ्ना आउने दिनहरुको अनुहार
          खोजिरहेछु,
          प्रत्येक जुलूस, सभा, भाषण
          र नयाँ योजनाका फाइलहरुमा
          पाइला टेक्ने आधार खोजिरहेछु—

          नयाँ बजेटको ओठमा
          खोजिरहेछु आश्वासन
          रेडियो–घोषणासँग मागिरहेछु
          सान्त्वनाका दुई शब्द
          नयाँ पे–स्केलले नापिरहेछु
          म आफ्नो परिवारको आयु;

          प्रत्येक खाली सिटको सूचनाले
          मलाई जवान बनाउँछ
          प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
          जीवन, काखीको पसीनाझैं गन्हाउँछ,
          आमाको ममतामा पनि
          कसैले नैराश्य घोल्दछ,

          बाबुको प्रोत्साहनमा पनि
          चिसो सुस्केरा बोल्दछ
          कुमारी बहिनीको स्यूँदोसँग, सिन्दूर
          झस्के झैं लाग्छ
          पत्नीले थालमा सधै–सधै
          व्यङ्ग्य पस्के झैं लाग्छ

          एक युग बित्यो
          म आफ्नो बिन्तीपत्रजस्तो अनुहार
          बोकेर
          भट्किरहेछु दर–दर
          पुगिरहेछु घर–घर,
          एक चिसो निद्राले मलाई छोपिरहेछ निरन्तर,
          मलाई थाहा छ
          यसपल्ट म निदाएँ भने
          फेरि कहिल्यै पनि म बिउँझन सक्दिन
          त्यसैले ए झुसिल्कीराझैं  लाम लागेकाहरु !
          ए नाराका अक्षरहरु !
          अरु जोर–जोरसित नारा लगाऊ
          उफ् ! म निदाउन चाहन्नँ यो दिउँसै
          मलाई जगाऊ, मलाई जगाऊ ।