शहिद

गाजापट्टिको चेकपोष्टमा
हुइङ्केर एउटा गाडी आयो,
बटुवालाई दियो ठक्कर,
भीत्र कोहि करायो- ‘अल्लाह हु अकबर’

त्यो रात भूमध्य सागरको पूर्वीतटमा
स-सम्मान नगर परिक्रमा गर्यो- दुइटा यहुदीको लाशले,
आत्मघाती चालकलाई झन्डा ओढायो, अर्कोतिर हमासले।

न कसैको हित भो, न कसैको जित भो
तर जे भो, राष्ट्रियता सहित भो,
त्यसैले दिवंगत तीनैजनालाई
घोषणा शहिद भो !

मैले कसबलाई शहिद भन्नेहरु देखेको छु,
मैले आत्मबलका खातिर लाश, गन्नेहरु देखेको छु,

शहिद तँ को होस्?

क्याम्बोडियाको म्युजियममा खचाखच भरिएको खोपडी होस्?
कि गुजरातको दंगामा जलाइएको अब्दुल मिंयाको झोपडी होस्?

बिस्फोटमा पड्किएर टुक्रा टुक्रा, जिहादीको शरीर होस्,
कि अरुहरुकै युद्धमा स्वर्ग जाने, गोर्खाली बीर होस्?

अनार्य होस् कि, हिटलरले मारेको?
कि शुभास चन्द्र बोस, कसैले गाएब पारेको?

तँ तुत्सी होस् कि हुतु होस्,
तँ नुएर होस् कि दिन्का होस्
कि त सँधै उत्सर्गमा तल्लिन,
यगोपावितको सिन्का होस्?

सेनाले मारेको माओबादी होस् कि,
माओबादीले मारेको सेना होस्,
या जनता होस्, क्रस फायरमा भेटिएको,
कि मुक्तिनाथ होस्, खम्बामा बाँधेर रेटिएको?

आफैमा आगो सल्काएर,
भुतभुताउदै मर्ने दलाइ लामाका चेला होस् की,
आफ्नै छाती ठोकी हिड्ने, अशुराको मेला होस्?

तँ रोहिंगा होस् कि राष्ट्रहिन,
या राजा बिरेन्द्र, सत्तासीन?
तँ बामियानको बुद्ध होस्?
पेशावर मात्रै होस् कि तँ
वजरिस्थान सुद्ध होस्?

तँ कश्मिर भए,
क्वेटा पनि त होलास,
सिमानाको उता भए तँ,
यता पनि त होलास !

तँ सुन्नी होस् कि सिया होस्?
तँ मुजिब होस् कि जिया होस्?
राजीव गान्धी कि प्रभाकरण,
तँ हामी जस्तै होस् कि,
अलि छुट्टै, असाधारण?

मलाई लाग्छ,
तँ झिल्का होस्,
जसको उज्यालोले निदाई रहेको समाज जाग्छ-
तेरो मृत्युले बाँचेकाहरुलाई-
यथास्थितीको क्रूरता बताउँछ
र परिवर्तनकालागि प्रेरित गर्छ।

त्यहि त हो तात्पर्य?
तैले मरेर फ़ुट्दैन पहाड, बन्दैन बाटो।

सडक दुर्घटनामा परेर मर्नेहरुले यदि,
देशलाई सडक सुरक्षाको प्रेरणा मिल्छ भने,
त्यो पनि शहिद हो।

तर मृत्युसंग अभ्यस्त भैसकेको समाजमा,
बरु गढ़िमाईको राँगो शहिद होला,
तँ शहिद होइनस,
फगत एउटा संख्या होस्, कागजमा एउटा अंक-
मुख्य समाचारको सानो अंश भन्दा बढी तेरो महत्व छैन
शहिद दिवसको भोलिपल्ट बढारिने,
मुर्झाएका मालाहरु भन्दा बढी तेरो मूल्य छैन

जब मृत्यु प्रति सह-अनुभूति हराउदै जान्छ
जब पिना सुक्दै र काग कराउदै जान्छ-
तैले मरेर हुदै हुदैन
सुन्ने कोहि भए बोल बरु,
पढ्ने कोहि भए लेखे हुन्छ-
किनकी आहुतिले हुदैन उज्यालो बिहानीको,
उदयले हुन्छ !

चिरायु रेग्मी

Advertisements

उज्यालो र आकर्षण

 

 

रातमा उज्यालोतिर किराहरुको आकर्षण देखेर,

उसले सराप्दै भन्यो-

‘कस्ता  साला किराहरु!’

 

 

उसलाई किराहरुसँग  किन रीस थियो कुन्नि?

ती शायेद चेतना शुन्य किराहरुसँग ,

एकोहोरो, एकनास हावामा वृत बनाउदै

उज्यालोलाई परिक्रमा गर्ने किराहरुसँग,

उसको भागको उज्यालो अलिकति छेकेकोले होला कि ?

ऊ पनि त उज्यालोको लोभी नै रहेछ।

 

 

एउटा भन्दा अर्को नजिक,

सामिप्यमा बत्तिको

ठोक्कीदैं  बल्ब को दिवारमा कहिले,

आगोको उज्यालो भए त-

त्यसैमा जल्दै कोहि कोहि,

एउटाको ठाउँ अर्कोले

खोसी हाल्ने तुरुन्तै- किराहरु सँग ?

आफु जस्तै लागेर  हो कि ?

ऊ पनि त इर्ष्याले जल्छ  कहिले कहिले,

रीसले झोकिन्छ, अहंकारले बज्रिन्छ

जमिनमा ठोकिन्छ कहिले कहिले।

 

 

बत्ति निभे पछि राति,

किराहरु खै कता जानछन् ?

पट्ट्यार लाग्दो क्यार क्यार त सुनिन्छ रातभर-

उसलाई त्यसमा पनि रिस उठ्छ,

अनि मुर्मुरैदै निदाउँछ,

बिहान आँखा मिच्दै उठ्दा,

हफिजुल कुचो लिएर आइपुग्छ,

बंगाली- जो ऊ  त्यति बुझ्दैन- मा

खै के गुन  गुनौउदै हफिजुलले बढार्छ,

कासिंगर- जसको ठुलो अंश,

किराहरु भुइँमा मरेका,

या हिजो रातिको स्खलनले शिथिल

मस्त सुतेका-

मलाई थाहा छैन,

हफिजुल्ले  बढार्छ – वास्ता नगरी।

बिहान हुने बित्तिकै,

 

 

मान्छेहरु उठ्छन् – सबेरै,

अनि खै कसको हो वरिपरी,

एकोहोरो, एकनास घुमीरहन्छन

क्यार क्यार गरिरहन्छन

पट्ट्यार लाग्दो, घिन लाग्दो- दिनभरी।

 

 

अंध्यारोमा बरु जुनकिरी उज्यालो बोकेर,

आफू कत्ति नजलिकन,

निस्किन्छ कुनै,

अविदितको यात्रामा।

 __चिरायु रेग्मी