गाजापट्टिको चेकपोष्टमा
हुइङ्केर एउटा गाडी आयो,
बटुवालाई दियो ठक्कर,
भीत्र कोहि करायो- ‘अल्लाह हु अकबर’
त्यो रात भूमध्य सागरको पूर्वीतटमा
स-सम्मान नगर परिक्रमा गर्यो- दुइटा यहुदीको लाशले,
आत्मघाती चालकलाई झन्डा ओढायो, अर्कोतिर हमासले।
न कसैको हित भो, न कसैको जित भो
तर जे भो, राष्ट्रियता सहित भो,
त्यसैले दिवंगत तीनैजनालाई
घोषणा शहिद भो !
मैले कसबलाई शहिद भन्नेहरु देखेको छु।
शहिद तँ को होस्?
अनार्य होस् कि, हिटलरले मारेको?
कि शुभास चन्द्र बोस, कसैले गाएब पारेको?
तँ तुत्सी होस् कि हुतु होस्,
तँ नुएर होस् कि दिन्का?
कि त सँधै उत्सर्गमा तल्लिन,
यगोपावितको सिन्का?
तँ रोहिंगा होस् कि राष्ट्रहिन,
या राजा बिरेन्द्र, सत्तासीन?
तँ बामियानको बुद्ध होस्?
पेशावर मात्रै होस् कि तँ
वजरिस्थान सुद्ध होस्?
तँ कश्मिर भए,
क्वेटा पनि त होलास,
सिमानाको उता भए तँ,
यता पनि त होलास !
तँ सुन्नी होस् कि सिया होस्?
तँ मुजिब होस् कि जिया होस्?
राजीव गान्धी कि प्रभाकरण,
तँ हामी जस्तै होस् कि,
अलि छुट्टै, असाधारण?
मलाई लाग्छ,
तँ काँटी होस् सलाईको- जसले बालेको ज्योति कतै,
उज्यालो बनेर बलिरहन्छ निरन्तर-
कतै बिद्रोह बनेर दन्किन्छ
कतै बनेर खरानी- चुल्होतीरै थन्किन्छ।
त्यहि त हो तात्पर्य?
तैले मरेर फ़ुट्दैन पहाड, बन्दैन बाटो।
तर मृत्युसंग अभ्यस्त भैसकेको समाजमा,
बरु गढ़िमाईको राँगो शहिद होला,
तँ शहिद होइनस-
फगत संख्या होस्, कागजमा एउटा अंक-
मुख्य समाचारको सानो अंश भन्दा बढी तेरो महत्व छैन
शहिद दिवसको भोलिपल्ट बढारिने,
मुर्झाएका मालाहरु भन्दा बढी तेरो मूल्य छैन।
जब मृत्यु प्रति सह-अनुभूति हराउदै जान्छ
जब पिना सुक्दै र काग कराउदै जान्छ-
तैले मरेर हुदै हुदैन
सुन्ने कोहि भए बोल बरु,
पढ्ने कोहि भए लेखे हुन्छ-
किनकी आहुतिले हुदैन उज्यालो बिहानीको,
उदयले हुन्छ !
चिरायु रेग्मी
Kati mitho sahitya..
Nice
Thank you